Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार

खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय

श्री जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धादिंग

बागमती प्रदेश सरकार

खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय

श्री जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धादिंग

न्यून व्यान्डविथ Invert Color A- A A+

धादिङ्ग जिल्लाको संक्षिप्त परिचय 2079-11-30

वागमती प्रदेशको पश्चिम भागमा रहेको मध्यपहाडी जिल्ला धादिङ लामो जिल्लाहरु मध्यको एक हो। उत्तरबाट दक्षिणतिर फुकेको अवस्थामा यो जिल्ला रहेको छ। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ। यस जिल्लाको पुर्वमा रसुवा, नुवाकोट र काठमाण्डौं, पश्चिममा गोर्खा, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र रसुवा र दक्षिणमा मकवानपुर र चितवन जिल्ला पर्दछ । यस जिल्लाको भौगोलिक क्षेत्रफल १,९२,४८४ हेक्टर रहेको छ । यस जिल्लाको सदरमुकाम धादिङबेशी (६४० मिटर) हो । यस जिल्लाको सबभन्दा अग्लोस्थान पाविल हिमाल (७,११० मिटर) रहेको छ भने सबभन्दा होचोस्थान जोगीमारा (३०० मिटर) रहेको छ। यस जिल्लामा २ वटा नगरपालिका र ११ वटा गांउपालिकाहरु रहेका छन् ।

धादिङ जिल्ला नेपालका दूर्लभ जातीहरुमध्येको एक जाती चेपाङ प्रजा को बसोबास रहेको जिल्ला हो । चेपाङहरुले ज्वालामुखीलाई देवता मान्ने गर्दछन् । चेपाङको भाषामा "धा" भनेको देवता र "दिङ" भनेको आगोको ज्वाला भन्ने हुन्छ । चेपाङहरु पहिलेदेखि नै यहाँ बसोबास गरेको र ज्वालामुखी देवीको मन्दिर पनि यस जिल्लामा रहेकोले चेपाङ भाषाबाट नै यस जिल्लाको नाम "धादिङ" रहन गएको हो भन्ने जनश्रुती रहेको पाइन्छ ।

प्रसिद्ध गणेश हिमालको काखमा रहेको धादिङ जिल्ला अनेकौ नदीनाला, लेक, बेंसी, टार, फाँटहरू र प्राकृतिक मनोरम दृश्यहरुले भरिएको छ । यस जिल्लामा बग्ने नदी तथा खोलाहरुमा त्रिशुली नदी, आँखु खोला, थोप्पल खोला, महेश खोला, आग्रा खोला, बेल्खु खोला, मलेखु खोला, आँसी खोला, कोशी खोला आदि प्रमुख रहेका छन् र ती लगायत १५०० भन्दा बढी खोला खोल्साहरू यस जिल्लाभित्र रहेका छन्। त्यसैगरी जिल्लाको पश्चिममा बूढी गण्डकी नदीले गोर्खा र धादिङलाई छुट्याएर सीमानामा बगेको छ। त्रिशुली नदी, आँखु नदी, थोप्पल खोला, बूढीगण्डकी नदी तथा खोलाको किनारमा बेंसी तथा टारहरू पर्दछन्। नेपालका चर्चित टारहरूमध्येको एक टार सल्यानटार बूढीगण्डकी र आँखु नदीको बीचमा रहेको छ। त्यसैगरी जिल्लामा ससाहटार, कल्लेरीटार, पिपलटार, गजुरीटार, फिसफिसेटार, बाहुनटार, विशालटार, रिचोकटार जस्ता प्रशस्तै टारहरू र बेंसीहरू रहेका छन। पर्यटकीय दृष्टिकोण र आन्तरिक व्यापारको दृष्टिकोणले यो जिल्ला प्रसिद्ध रहेको छ । यस जिल्लाको  मूख्य व्यापारिक स्थानहरुमा गजुरी, धादिङबेशी, मलेखु, नौबिसे, बेनिघाट, आदमघाट, गल्छी आदी रहेका छन् । गंगाजमुना झरना, झर्लाङको तातोपानी मुल, गुप्तेश्वरी गुफा, चमेरो गुफा, विन्दुकेशर, मण्डलीमाइ, ज्वालामुखी देवी, त्रिपुरासुन्दरी मन्दिर, सिद्धलेक, सल्यानकोट जस्ता धार्मिक तथा पर्यटकिय स्थलहरुले यो जिल्लालाई सुन्दर वनाएको छ । यस जिल्लाको विशेषता केलाउँदै जाँदा राष्ट्र निर्माता पृथ्वीनारायण शाहसँग मैदीकोट, सल्यानकोट, कानाकोट जस्ता ठाउँहरूको प्रसंग जोडिएको पाइन्छ। त्यस्तै प्रसिद्ध राष्ट्रवादी प्रधानमन्त्री भिमसेन थापाले निर्माण गरेको बगैँचा, पौवा, मन्दिरहरू भग्नावशेषको रूपमा भएपनि बुङकोटघाटमा अझैसम्म रहेको छ।

राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,३६,०६७ रहेको छ । जस मध्ये पुरुषको संख्या १,५७,८३४ रहेको छ भने महिलाको सख्या १,७८,२३३ रहेको छ । यस जिल्लाको कुल घरपरिवार संख्या ७३,८५१ रहेको छ । यस जिल्लामा प्रति परिवार औसत सदस्य संख्या ४.५५ रहेको देखिन्छ । यस जिल्लामा प्रमुख रुपमा तामाङ्ग, मगर, क्षेत्री, ब्राम्हण, चेपाङ्ग आदी जाती तथा जनजातीहरु बसोवास गर्दै आएका छन् । यस जिल्लामा उत्पादन हुने प्रमुख अन्नबाली, नगदेबाली, दलहनबाली फलफुल र खाद्य तथा तरकारी बालीहरुमा मकै, धान, गहुं, आलु, फापर, जौ, उवा, केराउ, सिमी, वन्दा, स्याउ, काउली, रायो आदी रहेका छन् । यो जिल्लामा खेतीपातीको रुपमा प्रमुख बालीहरुमा धान, मकै र गहुं नै रहेका छन् । यसका अतिरिक्त पशुपालन व्यवसाय पनि रहेको देखिन्छ ।

धादिङ जिल्लामा समउष्ण समशितोष्ण र शितोष्ण हावापानी पाइन्छ। होचो भू-भाग सामान्यतया बेंसी एवं टारहरूमा समउष्ण हावापानी पाइन्छ भने तल्ला पहाडी भू-भागमा समशितोष्ण हावापानी पाइन्छ र माथिल्लो पहाडी भू-भागमा शितोष्ण हावापानी पाइन्छ।

जिल्ला स्थित जलस्रोतको अवस्था (Status of Water Resources)

जिल्ला स्थित कूल नदी नाला, खोला खोल्सीको संख्या                                  :             १७६८

जिल्ला स्थित कूल ताल तलैयाहरुको संख्या                                               :             २१७

सिंचाइ कार्यमा प्रयोग भईरहेका नदीनाला, खोलाखोल्सी, तालतलैयाको संख्या  :             १३९७

जिल्लाका मुख्य मुख्य नदी, खोला, तालहरुको विवरणः 

  • त्रिशुली नदी
  • बूढी गण्डकी नदी
  • आँखु नदी
  • गन्धक खानी खोला
  • लापा खोला
  • भाविल खोला
  • लिस्ने खोला
  • मनपाङ्ग खोला
  • अफल खोला
  • किङताङ्ग खोला
  • काष्टे खोला
  • ह्यापिङ्गे खोला
  • लपाङ्ग खोला
  • भर्याङ्ग भुरुङ्ग खोला
  • थोपल खोला
  • पलाखु खोला
  • आँसी खोला
  • अरुङ खोला
  • मस्ते खोला
  • चिराङ्गदी खोला
  • ग्याल्मा खोला
  • धौ खोला
  • च्याँडु खोला
  • कोल्पु खोला
  • महेश खोला
  • खानि खोला
  • नौबिसे खोला
  • गणेश खोला
  • मुल खोला
  • सोप्याङ्ग खोला
  • आग्रा खोला
  • कोशी खोला
  • डुम्रेचौर खोला
  • खेष्टे खोला
  • बेल्खु खोला
  • आदम खोला
  • गलौदी खोला
  • मलेखु खोला
  • तुँदी खोला
  • चरौंदी खोला
  • हुग्दी खोला
  • छापगाँउ खोला
  • हाटिवाङ्ग खोला


पछिल्लो अपडेट गरिएको : 2079-12-12 21:38:16

© सर्वाधिकार सुरक्षित श्री जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, धादिंग

Powered By: ProActive Developers